साबिकको जिल्ला पशु सेवा कार्यालय मोरङ्ग 2011 सालमा भेटेरिनरी डिस्पेन्सरीको रुपमा स्थापना भएको थियो। बि.सं. 2027 साल जेष्ठ 32 गतेबाट पशु चिकित्सालय नामाकरण भै अन्चलस्तरीय कार्यभार बहन गरेको थियो। तत्कालिन जिल्ला पंचायत सचिवालयको अधिनमा रहि कार्यक्रम संचालन गर्ने गरी बि.सं. 2039 सालमा यसलाई जिल्लास्तरको पशु स्वास्थय र पशु विकास शाखामा परिणत गरियो। यस कार्यलयको नाम जिल्ला पशु सेवा कार्यालय, मोरङ्ग श्री 5 को सरकारको मिति 2045।05।10 को निर्णय पछि कायम भएको हो। जिल्ला स्थित सम्पूर्ण कृषि कार्यक्रमहरु एकै थलोबाट संचालन गर्ने उद्येश्य लिएर बि.सं.2049 सालमा जिल्ला पशु सेवा कार्यालयलाई जिल्ला कृषि विकास कार्यलयमा समाहित गरियो। फेरी श्री 5 को सरकारको बि.सं.2052 को निर्णानुसार केन्द्र देखि सेवा केन्द्रस्तर सम्म कृषि निकायबाट पशु सेवालाई अलग गरि पुनः जिल्ला पशु सेवा कार्यालयको स्थापना हुन पुग्यो। यो कार्यालय विराटनगर उपमहानगर पालिकाको वडा नं. 17 मा आवस्थित रही पशु सेवाका विविध कार्यक्रमहरु संचालन गर्दै आएको थियो। यस कार्यालय अन्तर्गत 4 वटा क वर्गको सेवा केन्द्र तथा 13 वटा ख वर्गको सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको थियो।
नेपालको संविधान २०७२ अनुसार निश्चित कार्य विवरण तोकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १ विराटनगर मातहत रहने गरि २०७५ असोज महिनाको २७ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मोरङ्गको स्थापना भई हाल उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश, विराटनगरको मातहतमा कृयाशील रहेको छ।यसको मुख्य कार्य पशुपन्छी तथा मत्स्य बिकासको लागि उच्चतम प्रविधि ज्ञान र सिपको समुचित उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व अभिवृद्वि ,विविधिकरण, बजारिकरण र व्यवसायिकरणको माध्यमबाट गरिबि न्यूनिकरण, स्वरोजगार श्रृजना तथा आर्थिक सम्मृद्वि हासिल गर्ने रहेको छ ।